सप्तरी, ८ चैत । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको महादेवा गाउँपालिका–४ डाडा मियाँ टोल बस्ने मो. जहुरको ५० वर्षीया श्रीमति अमिना खातुन रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ९ बजेको समयमा आफ्नो घरको शौचालय छेउमा थुपारिराखेको जस्तापात्ता एक ठाउँबाट अर्को ठाउँमा सार्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

विद्युतको पोलमा प्रसारण भएको विजुलिको नांगो तारमा जस्तापात्ताले छुँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

करेन्ट लागेर घाइते भएकी खातुनलाई भारदह अस्पताल सप्तरीमा उपचारका लागि लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी सिंहले बताए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।