काठमाडौं, ७ चैत । जनता समाजवादी पार्टी (जसपा)नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जसपाले बुधबार बैठक आह्वान गरेको हो ।

बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्न लागेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।बैठकमा उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने उनले बताए ।

बैठकमा वैशाख १० गते प्रतिनिधिसभा अन्तर्गत तीनवटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा पार्टीले दिने उम्मेदवारीलगायतका विषयमा पनि छलफल हुने प्रवक्ता सुमनले बताए ।

उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव बारा–२ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन् ।