जनकपुरधाम, ७ चैत । करिब डेढ दशकपछि जनकपुरधामस्थित बहुप्रतिष्ठित रामस्वरुप रामसागर बहुमुखी (राराब)क्याम्पसले नयाँ स्ववियु सभापति पाएको छ ।

१४ वर्षपछि भएको स्ववियु निर्वाचनमा राराब क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका मनिषकुमार यादव निर्वाचित हुँदा सचिवमा भने लोकतान्त्रिक विद्यार्थी संघका करण साहले बाजी मारेका छन् ।

साहले नेपाल विद्यार्थी संघका उम्मेदवार रञ्जितकुमार मण्डललाई पराजित गर्दै लोसपा विद्यार्थी संघको प्यानलबाट एक्लै निर्वाचित भएका छन् ।

करणले ९२६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका रञ्जितले ८०९ मत पाएका छन् । त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार अजय सिंह कुशवाहाले ४५३ मत मात्र ल्याउन सके ।

कुल मतदाता संख्या ७ हजार २१५ रहेको राराब क्याम्पसमा २ हजार ६६२ जनाले मतदान गरेका थिए । कुल खसेको मत मध्ये ९२६ ल्याउँदै लोसपा विद्यार्थी संघका करण सचिवमा विजयी भएका छन् । नेविसंघका उम्मेदवार रञ्जितकुमार मण्डललाई ११७ मतान्तरले पछि पार्दै करण सचिवमा चुनिएको निर्वाचन अधिकृत रेमन्त मोरवैताले बताए ।

सभापतिमा मनिषसहित अन्य पदहरुमा पनि नेपाल विद्यार्थी संघकै उम्मेदवारहरु निर्वाचित हुँदा सचिवमा भने लोविसंघका करणले एक्लै बाजी मार्दा राराबको स्ववियु निर्वाचनमा क्याम्पसभित्र उनको मजबुत पकड र लगनशीलतालाई सबै मतदाता विद्यार्थीले मूल्यांकन गरेको देखिन्छ ।

करण भन्छन्,‘मैले आफ्नो प्यानलका सम्पूर्ण उम्मेदवारका लागि दिनरात मिहिनेत गरेको थिएँ । दुर्भाग्यवश आफ्ना अन्य साथीहरुलाई जिताउन सकिन । तर, कार्यसमितिभित्र एक्लै भएपनि राराब क्याम्पसको चौतर्फि विकासका लागि कहिल्यै पछि पर्दिन ।’

राराबको स्ववियु कार्यसमितिमा प्रत्यक्षबाट सचिव करणबाहेक सभापति, कोषाध्यक्ष र ८ जना सदस्यसहित कूल १० नेविसंघकै उम्मेदवारहरु निर्वाचित भएका छन् ।