प्रधानमन्त्री कपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं, ७ चैत । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा पहिलोपटक ७ जना खेलाडीले अवसर पाएका छन् । टिममा अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरीले पहिलोपटक राष्ट्रिय टोलीमा मौका पाएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप बुधबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि भुटान र लाओसको टोली नेपाल आइसकेका छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् । प्रतियोगिताको पुरस्कार राशि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउने छन् । पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै, चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।
थ्री नेसन्स कपका लागि नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल ।
डिफेन्डर : सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का ।
मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास ।
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


