सप्तरी, ७ चैत । सप्तरी प्रहरीले डाँका मुद्दाका एकजना फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोदेरबसाईन नगरपालिका–३ बस्ने ६५ वर्षीय फुल कुमार चौधरी थारु रहेका छन् ।

थारुसहित ११ जनामाथि २०५८ जेठ २७ गते सप्तरीको साबिक फुलकाही गाविस–६ बस्ने सूर्यनारायण पालको घरमा डकैती गरेको अभियोग रहेको प्रहरीले जनाएको छ ।

सप्तरी जिल्ला अदालतले २०७१ चैत १० गते चौधरीलाई ६ वर्ष कैद र १ लाख १९ हजार १८२ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

सोही बेलादेखि उनी फरार रहेका उनलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।