जनकपुरधाम, ६ चैत । धनुषा प्रहरीले प्रतिबन्धित लागूऔषध (एक्सिप्लोन) ४० बोतलसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर–६ ढल्केवर बस्ने ३७ वर्षीय रामहित साह रहेका छन् ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले साहको घरमा खानतलाशी गर्दा घरभित्र लुकाई राखेको अवस्थामा प्रतिबन्धित लागूऔषध एक्सिप्लोन १०० एमएलको ४० बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

बरामद भएको लागूऔषधसहित साहलाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।