काठमाडौं, ६ चैत । साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको छ ।

सोमबार मुस्तफा कमल स्टेडियम ढाकामा भएको च्याम्पियनसिपको पहिलो खेलमा भारतकी शिलजी शाजीले ह्याट्रिक गरेकी हुन् ।

खेलको १०औं मिनेटमा उनले पहिलो गोल गर्दै भारतलाई १–० को अग्रता दिलाइन् । ४०औं मिनेटमा पुन शिलजीले किपरलाई वान एण्ड वानमा बिट गर्दै दोस्रो गोल गरिन् ।

नेपालको निकै फितलो डिफेन्स र गोल रक्षक अगाडि बढेको अवस्थामा भारतका लागि पुजाले तेस्रो गोल गरिन् ।

पहिलो हाफमा ३–० को अवस्थामा रहेको खेलमा दोस्रो हाफमा नेपालले एक गोल मात्रै फर्काउन सक्यो । नेपालका लागि बर्षा ओलीले ५४ औं मिनेटमा गरेको गोल नै नेपालको लागि एक मात्र गोल बन्यो ।

त्यस्तै, खेलको ८१औं मिनेटमा पुन शिलजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित सुनिश्चित गराइन् ।