प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पाए विश्वासको मत

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएका हुन् ।
८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत गरेका थिए भने १ जनाले मत नै दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले यसअघि गत पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले २६८ सांसदको मत पाएका थिए भने दुईजना सांसदले उनको विपक्षमा मत दिएका थिए ।
दोस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले, राप्रपा र नेमकिपाबाहेकका दलले विश्वासको मत दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका हुन् ।
प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए । २६ पुसमा विश्वासको मत लिएका प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।
सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।
प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारलाई विश्वासको मत प्रदान गर्नुहुने प्रतिनिधिसभाका माननीय सदस्यज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईंहरूले दिनुभएको विश्वासलाई उर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतीज्ञा गर्दछु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


