काठमाडौं, ६ चैत । बाराको निर्वाचन क्षेत्र नम्बर–२ र तनहुँ–१ र मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । यी दुई क्षेत्रमा पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपश्चात् सांसद पद रिक्त भएका छन् ।

तनहुँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको सांसद पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम उपनिर्वाचन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएपछि चितवन–२ मा पनि आगामी वैशाख १० मा निर्वाचन हुने गरी मिति तोकिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रमबमोजिम नै हुने व्यवस्था गरिएको छ ।