प्रधानमन्त्री कपमा आमन्त्रित देशलाई कमजोर भन्न नमिल्ने एन्फाको दाबी

काठमाडौं, ६ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा आमन्त्रित देशलाई कमजोर भन्न नमिल्ने दाबी गरेको छ ।
चैत ८ देखि १७ गतेसम्म दशरथ रंगशालामा नेपालसहित भुटान र लावसले प्रधानमन्त्री कप फुटबल खेल्दै छन् । एन्फाले आफूभन्दा कमजोर टिम भुटान र लावसलाई आमन्त्रण गरेको भनेर आलोचना भइरहेको छ ।
आलोचनाको खण्डन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले वरीयताकै आधारमा कसैलाई कमजोर मान्न नसकिने बताए ।फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा छ भने प्रधानमन्त्री कप खेल्न आउने भुटान १८५ औं र लावस १८७ औं स्थामा छन् ।
एन्फाले यसअघि प्रतियोगिताका लागि फिलिपिन्स र मलेसियासँग पनि कुरा भएको तर उनीहरूको समय नमिल्दा सम्भव नभएको बताएको थियो ।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको ब्रोडकास्टिङ, डिजिटल र मार्केटिङको अधिकार २० लाख रुपैयाँमा एमडीएसी स्पोर्टस् प्रालिले पाएको छ । एन्फाले टिकेटिङ् भने आफैँले गर्ने जनाएको छ ।
यसअघि एन्फाले यो प्रतियोगिताको टिकेटिङ्मा ३० लाख र मार्केटिङका लागि ५० लाख न्यूनतम मूल्य तोकेर बोलपत्र आह्वान गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


