हरिपुर्वामा बजार व्यवसाय र सवारी साधन पूर्णरूपले बन्द

सर्लाही, ६ चैत । सर्वदलीय संघर्ष समितिले सोमबार सर्लाहीको हरिपुर्वा नगरपालिकामा बजार व्यवसाय तथा सवारी साधन पूर्णरूपले बन्द गराएको छ ।
संघर्ष समितिले ९ बुँदे मागसहित नगरभित्रको बजार व्यवसाय तथा सवारी साधन पूर्णरूपमा बन्द गराएको हो ।
नगरपालिकाले आफ्नो जग्गामा प्रशासकीय भवन बनाउनुपर्ने, प्रहरी चौकीका लागि खरिद गरिएको जग्गामै चौकी निर्माण गर्नुपर्ने, नारायण दास मठको जग्गा फिर्ता गर्नुपर्ने, बाँके–संग्रामपुर सडकखण्डको अधुरो सडक निर्माण गर्नुपर्ने, पुरानो बजारको जग्गा छुट्याउनुपर्नेलगायतका ९ बुँदे मागसहित नगरभित्रको बजार व्यवसाय तथा सवारी साधन बन्द गराएको संघर्ष समितिका अध्यक्ष विकाउ यादवले जानकारी दिए ।
सर्वदलीय संघर्ष समितिले शनिबारदेखि ३ दिने आन्दोलनको शुरूवात गरेकोमा सोमबार तेस्रो दिन सवारीसाधन तथा बजार व्यवसाय बन्द गराएको हो ।
नेकपा माओवादी केन्द्रका नेता जागेश्वर यादवले नगरप्रमुखको बदमासीका कारण रामजानकी मठ (नरायण दास) र केश्वर गरिब जनता मा.वि. को जग्गा हिनामिना भइरहेको आरोप लगाए । उनले बाँकेदेखि संग्रामपुरसम्मको सडक हरिपुर्वा अन्तर्गत अधुरो तथा पुरानो बजार विस्तारका साथै बजारदेखि उत्तर बाँके नदीसम्मको सडक विस्तार र अस्पताल, पम्पसेट समेत अलपत्र अवस्थामा देखिएकोले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिएको जानकारी दिए ।
संघर्ष समितिले यसअघि शनिबार हरिपुर्वा नगरपालिकाभित्र माइकिङ्ग गर्नुका साथै आइतबार नगरपालिकाविरुद्ध शान्तिपूर्ण नारा जुलुससहित विरोध प्रदर्शन गर्दै नगर परिक्रमा गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


