सप्तरी प्रहरीले पेस्तोलसहित दुई युवकलाई समात्यो

सप्तरी, ५ चैत । सप्तरी प्रहरीले पेस्तोलसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आइतबार दिउँसो जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–१ खाडोखोलाबाट छिनमस्ता गाउँपालिका–२ महुवा बस्ने २८ वर्षीय सोनु राय र राजविराज नगरपालिका–१ डुमरी बस्ने २८ वर्षीय रोशन यादवलाई पक्राउ गरेको हो ।
उनीहरुलाई अमेरिकन र चाइनिज पेस्तोलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
पक्राउ परेका रायलाई सोधपुछ गर्दा पेस्तोल दिने अर्का युवक यादवलाई समेत पक्राउ गरिएको डीएसपी सिंहले बताए । प्रहरीले रायलाई चेकजाँच गर्दा कम्मरमा इलासटिकले बाँधेर राखेको अवस्थामा मेड इन यूएसए र अर्को पट्टी चाइना लेखेको अटोमेटिक म्यागजिन सहितको पेस्तोल १ थान बरामद गरेको छ ।
रायलाई प्रारम्भिक सोधपुछ गर्दा यादवले उनलाई उक्त पेस्तोल दिएको भनी खुलाएको हुँदा उनलाई पनि पक्राउ गरि थप अनुसन्धान थालेको डीएसपी सिंहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


