प्रचण्डले राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थाले : मोहन वैद्य

काठमाडौं, ५ चैत । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्दै उनलाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको बताएका छन् ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रधानमन्त्री प्रचण्डले जनताको विश्वास गुमाइसकेको दाबी गरेका हुन् ।
कहिले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर दाहालले राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको उनले आरोप लगाए ।
उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको टिप्पणी गरे ।
महासचिव वैद्यले वर्तमान राज्यसत्ता सञ्चालनका लागि कांग्रेस असफल भइसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए ।
नयाँ राज्यसत्ता निर्माणका लागि तयार रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


