जनकपुरधाम, ४ चैत । धनुषाको एक पालिकाले जाडोमा बाँड्नुपर्ने सिरक गर्मी सुरु भएपछि बाँड्न सुरु गरेको छ ।

जिल्लाको नगराईन नगरपालिकाले जाडो छल्न हिउँदमा चाहिने फाइबर सिरक गर्मी सुरु भएपछि बाँड्न थालेको हो ।

नगराइन नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष सूर्यनारायण साहले जाडोबाट जोगिन भन्दै आफ्नो वडाका जेष्ठ नागरिक, दलित विपन्न तथा अपाङ्गलाई सिरक वितरण गरेका छन् ।

वडा कार्यालयले शुक्रबार नगरप्रमुख विनयकुमार यादव र प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णको उपस्थितीमा वडा नम्बर–७ का २ सयभन्दा बढि जेष्ठ नागरिक, दलित विपन्न तथा अपाङ्गलाई फाइबार सिरक वितरण गरेको छ ।

वडाध्यक्ष साहले वडाको ७ लाख रुपैयाँ बजेटबाट ३०१ जेष्ठ नागरिक, दलित एवं अपाङ्गलाई फाइबार सिरक वितरण गर्ने योजना रहेको जानकारी दिए । उनले २ हजार २ सय रुपैयाँको दरले एउटा सिरका खरिद गरिएको बताए ।

उनले नगरपालिकामा लामो विवादपश्चात् गत माघ १८ गते नगरसभा हुँदा ढिलो भएको बताउँदै सिरक वितरण गर्न ढिलो भएको स्वीकार गरे । गर्मी सुरु भएपछि सिरक वितरण गरिएपनि आगामी जाडोमा काम लाग्ने वडाध्यक्ष साहको भनाइ छ ।

यता, स्थानीयले भने शितलहरमा जसोतसो गुजारा गरेका नगरवासीलाई गर्मीमा सिरक वितरण गरेर वडा कार्यालयले मजाक नै बनाएको गुनासो गरेका छन् ।

स्थानीय एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘जाडो समाप्त भएर गर्मी सुरु भएपछि नगराइन नगरपालिकाले न्यानो सिरक वितरण सुरु गर्नु मजाक जस्तै छ ।’

यसअिघ जाडो र शितलहरमा गरीब विपन्नहरु प्रभावित भएको बेला न्यानो सिरक नदिएका वडाध्यक्ष साहले गर्मीमा सिरक बाँड्दा स्थानीयले उनको नैतिकता र कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् ।