जनकपुरधाम, ४ चैत । धनुषामा एक ट्याक्टर चालकमाथि छुरा प्रहार भएको छ । जिल्लाको मिथिला नगरपालिका–९ का ट्याक्टर चालक पवनकुमार महतोमाथि छुरा प्रहार भएको हो ।

सोही नगरपालिकास्थित बडहरी खोलामा बालुवा लिन गएका बेला उनीमथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालक महतोसँग बेंगाडावरस्थित होराइजन स्कुल नजिक ५ जनाको समूहले ट्याक्टर रोकेर पैसा मागेको र उनले उनीहरुलाई पैसा नदिएपछि आक्रमण भएको थियो ।

गम्भीर घाइते भएका महतोको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । उनको अवस्थामा सुधार हुँदै गएको प्रहरीले जनाएको छ । महतोको अहिलेसम्म ५ वटा अप्रेसन भइसकेको उनको पारिवारिक स्रोतले बताएको छ ।

महतोमाथि सोही ठाउँका २५ वर्षीय निरज लामा, ३४ वर्षीय रितेश लामा, २५ वर्षीय निसान लामा, २२ वर्षीय किसन लामा र २९ वर्षीय सुनिल लामाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरेर भागेका ५ जनामध्ये निरज लामा, रितेश लामा र किसन लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान थालिएको र अन्य दुईजनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।