पर्सा, ३ चैत । पर्साको वीरगञ्ज महानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने घोषणा गरेको छ ।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबारको खेलमा नेपाललाई तेस्रो स्थानमा पुर्याउन योगदान दिने क्रिकेटर आसीफ शेष र आरीफ शेषलाई महानगरपालिकाले मोटरसाइकल प्रदान गर्ने नगरप्रमुख राजेशमान सिंहले घोषणा गरेका हुन् ।

विश्व मानचित्रमा नेपालको नाम जाज्वल्य पार्ने खेलमा वीरगञ्जका खेलाडीहरू ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने बताएका छन् ।

उनले नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्याई राष्ट्रको शिर उच्च बनाउने नेपाली क्रिकेट टोलीलाई पनि शुभकामना व्यक्त गरेका छन् ।सहोदर दाजुभाइ रहेका क्रिकेटर आसीफ र आरीफ वीरगञ्ज–१२ निवासी हुन् ।