काठमाडौं, ३ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको रक्षा र पालना गर्दै मुलुकको राष्ट्रिय एकता मजबुत बनाउन इमान्दारितापूर्वक लाग्ने बताएका छन् ।

शुक्रबार निर्वाचित भइसकेपछि प्रतिक्रिया दिने क्रममा यादवले नेपालको संविधान, ऐन, कानुन बमोजिम आफ्नो भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले उपराष्ट्रपति पदको काम, कर्तव्य र अधिकार अनुुसार भूमिका निर्वाह गर्ने दाबी गरेका छन् ।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन आफ्नो तर्फबाट गर्न सकिने प्रयासलाई इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने उनले बताए ।

शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यले मत दिएका थिए ।