सर्लाही, ३ चैत । सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साहले हैकमवादी चरित्र प्रदर्शन गरिरहेको जनप्रतिनिधिहरूले नै आरोप लगाएका छन् ।

हरिपुर्वा नगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष रामसोगारथ राय यादवले विगत लामो समयपश्चात् बुधबार बसेको कार्यपालिका बैठकमा नगरप्रमुख साहले हैकमवादी प्रवृति देखाएको आरोप लगाएका हुन् ।

उनले भने, ‘बुधबार वन सम्बन्धी कार्यक्रम स्वीकृत गर्ने, शिक्षाको कार्यविधि लगायत अन्य कार्यविधि पारित गर्न र आर्थिक सहायत सम्बन्धमा आह्वान गरिएको कार्यपालिका बैठकमा नगरप्रमुख साह हैकमवादी तरिकाले प्रस्तुत भएका थिए । मेयर साहले आफूले भनेअनुसार नै सबैथोक हुनुपर्ने अडान राख्दा हरिपुर्वा नगरपालिका पटक पटक विवादित बन्दै आएको छ । हामी नगरप्रमुखको कार्यशैलीबाट आजित बनिसकेका छौं ।’

वडाध्यक्ष यादवले उपमेयर सुमिन्त्रा देवी ग्वारिनसहित वडा नम्बर–२, ३, ४, ६ र ७ का वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यलगायत ११ जनाको बहुमत रहेपनि नगरप्रमुख साहले आफूहरूलाई बायकट गरिरहेको आरोपसमेत लगाएका छन् ।

‘हरिपुर्वा नगरपालिकाले असार १० गते १०औँ नगरसभाबाट ५७ करोड १९ लाख २८ हजार रुपैयाँको अनुमानित बजेट ल्याएपनि सवारी साधन, नगरपालिकाको भवन निर्माण, बजेट तथा कार्यक्रम जस्ता विभिन्न विषय लिएर कार्यपालिका विवादित बन्यो,’ उनले भने, ‘विवादका कारण समयमै नगरसभा हुन नसकी नगरपालिकाका कर्मचारीहरु बितेको दशैं, तिहार र छठ पर्वमा तलब पाउन नसकेर नगरपालिकामा धर्ना दिँदै आन्दोलनमा उत्रिएका थिए ।’

कर्मचारी आन्दोलन र जनदबाबले मंसिर २९ गते विशेष नगर अधिवेशन गरी बजेट तथा कार्यक्रम पारित गरेर नगरपालिकाको कामकाज अगाडि बढाइएपनि विकास निर्माण लगायत अन्य जनमुखी काम अगाडि बढाउन नसक्ने नगर प्रमुख साह र प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेको मिलेमतोमा पालिकाको ढुकुटीबाट सवारी साधनमा मात्र करिव २० लाख रुपैयाँ खर्च गरेको वडाध्यक्ष यादवको आरोप छ ।

वडा नम्बर–२, ३, ४, ६ र ७ का वडाध्यक्ष, कार्यपालिका सदस्यले असन्तुष्टि जनाई खर्चबारे प्रष्ट्याउन नगर प्रमुख साहलाई आग्रह गरिरहेपनि उनले वेवास्त गरेको र करारका कर्मचारी नियुक्तिको विषयलाई लिएर पुनः पक्ष विपक्ष दुई ध्रवमा बाँडिएको उनले बताए ।

कार्यपालिका बैठक बस्नका लागि सत्ता साझेदारकै जसपा पार्टीका निर्वाचित वडाध्यक्षलगायत अन्य वडाध्यक्षले पटक पटक लिखित र मौखिक ध्यानाकर्षण गराउँदा पनि नगरप्रमुख साहले वेवास्ता गरिरहेको अवस्थामा अन्ततः बुधबारका लागि बोलाइएको बैठकमा पनि उनले हैकमवादी चरित्र प्रदर्शन गरेको नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित सुमिन्त्रा देवी ग्वारिनको गुनासो छ ।

उनले कांग्रेसबाटै निर्वाचित हरिपुर्वा नगरपालिकाका नगरप्रमुख साहको एकलौटी घेराबन्दीमा पालिका परेको आरोप लगाउँदै यस पालिकालाई पूर्णरूपले सूचारू गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताइन् ।

यता, वडाध्यक्ष यादवले नगरप्रमुख साहले सुरुदेखि नै आफ्नो सालोको इण्डियन प्लेटको गाडी भाडामा राखेर साढे ७ लाखको इन्धन, गाडी मरम्मतमा साढे ७ लाख र गाडी भाडावापत ५ लाख रूपैयाँ मनोमानी खर्च गरेको आरोप लगाएका छन् ।

यस सम्बन्धमा नगरप्रमुख साहले कार्यपालिका बैठकमा पालिकामा अस्पताल सञ्चालन, स्वयंसेवक शिक्षक भर्नालगायतको विषयमा छलफल भई यसलाई चाँडै लागू गरिने प्रतिबद्धता जनाएका छन् । उनले वडाध्यक्ष रामसोगारथ राय यादवलगायतका अन्य जनप्रतिनिधिहरूले आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गरेका छन् ।

नगरप्रमुख साहले आफूले पालिकामा कुनै किसिमको हैकमवादी चरित्र प्रदर्शन नगरेको र अन्य जनप्रतिनिधिलाई पनि आफ्नो अधिकार र कर्तव्यको दायरामा रहेर काम गर्न आग्रह गरेका छन् ।

यसअघि मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृत पक्षबीचको लामो विवादका कारण पनि हरिपुर्वा नगरपालिका बन्द भएको थियो ।गत माघ महिनामा जनप्रतिनिधि र कर्मचारीबीच सामान्य विषयमा विवाद हुँदा नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको थियो ।

नगरकार्यपालिकाले भर्ना कार्यविधि तथा छनोट समिति बनाएर चालक, कार्यालय सहयोगी र सरसफाइकर्मी गरी करिब ३५ जनाको लागि आवेदन खुलाएको थियो । करिब ३ सय जनाले आवेदन दिएकामा खुला प्रतिस्पर्धाबाट ३५ जनालाई छनोट गरिएको थियो ।

त्यस क्रममा वडा नम्बर–३ का वडाध्यक्ष प्रमोद यादवले आफ्नो मान्छे नपरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग रुष्ट बनेका थिए । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नमानेपछि विवाद सिर्जना हुँदा नगरपालिकाका सम्पूर्ण कर्मचारीले ताला लगाएर कामकाज ठप्प पारेका थिए ।