देशको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौं, ३ चैत । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । यादव ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
उनी १८४ संघीय सांसद र ३२९ प्रदेश सांसदको मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै, नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मतभार प्राप्त गरिन् । उनलाई १०४ संघीय सांसद र १६९ प्रदेश सांसदले मतदान गरे ।
यता, जनमत पार्टीकी ममता झाले २ हजार ५३७ मतभार प्राप्त गरेकी हुन् । उनलाई २३ जना संघीय सांसद र १५ जना प्रदेशसभा सदस्यले मतदान गरे ।
मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो ।
राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले राज्यको दोस्रो माथिल्लो पद हो ।
नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुने उल्लेख छ । यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


