सर्लाही, ३ चैत । सर्लाहीमा बालिका बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयबासी आन्दोलित बनेका छन् ।जिल्लाको हरिवन नगरपालिका–९ दनुवारीका स्थानीयबासिन्दाले शुक्रबार प्रदर्शन गरेका हु्न् ।

गत फागुन २५ गते स्थानीय ५५ वर्षीय नारायण गौतमले गाउँकै ११ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोप स्थानीयले लगाइरहँदा प्रहरीले गौतमलाई पक्राउ नगरेको पीडित पक्षको गुनासो छ ।

यता इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले घटना सार्वजनिक हुनासाथ गौतम फरार भएकाले पक्राउ गर्न नसकिएको बताए ।

आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गर्दै पीडित पक्ष र स्थानीयबासिन्दाले नयाँरोडस्थित पूर्वपश्चिम राजमार्गमा दुई दिनसम्म चक्काजामसमेत गरेका थिए ।

पीडित पक्षले गौतमलाई राजनीतिक संरक्षण दिएर जोगाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

पीडित परिवारले गौतमविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा किटानीजाहेरीसमेत दिएका छन् । प्रहरीले गौतमविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ ।

स्थानीयले नयाँरोडमा गरेको चक्काजाममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतसमेत पुगेका थिए ।

सीडीओ र एसपीले जतिसक्दो चाँडो आरोपितलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएपछि स्थानीयले चक्काजाम स्थगन गरेका थिए ।