खेलाडीद्वय झा र शेखलाई जनही २/२ लाख दिने मुख्यमन्त्री यादवको घोषणा

जनकपुरधाम, २ चैत । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एकदिवसीय प्रतियोगितामा नेपालले यूएईलाई ९ रनले पराजित गर्दै शानदार जित हासिल गरेकोमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई दिएका छन् ।
विश्वकप छनोट प्रतियोगितामा बिहीबार यूएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा मुख्यमन्त्री यादवले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरूलाई बधाई दिएका हुन् ।
मधेसका खेलाडीद्वय गुलशन झा र आरिफ शेखको खेलको प्रशंसा गर्दै उनले दुबैजनालाई प्रोत्साहनस्वरूप प्रदेश सरकारको तर्फबाट जनही दुई/दुई लाख रूपैयाँ प्रदान गर्ने घोषणासमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।
खेलाडीहरूले देश र प्रदेशको सम्मान बढाएकोमा खुशी व्यक्त गर्दै उनले कुशल भुर्तेल र भीम कार्कीको खेलको पनि प्रशंसा गरेका छन् ।
नेपाली टिममा सहभागी यस प्रदेशका खेलाडी गुलशन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरूको सम्झनामा रहिरहने बताउँदै मुख्यमन्त्री यादवले अर्का खेलाडी आरिफ शेखसमेतले आफ्नो खेलद्वारा मधेसको मान बढाएकोमा प्रसन्नता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


