महोत्तरी, २ चैत । महोत्तरीमा भारतीय एसएसबी जवानले एक नेपाली युवकलाई कुटपिट गरेको छ ।

जिल्लाको सम्सी गाउँपालिका–७ बस्ने सन्तोष कुमार साहलाई सम्सी नाकामा एसएसबी जवानले कुटपिट गरेका हुन् ।

नेपलबाट बोर्डर भएर घर फर्किरहेका उनलाई कुटपिट गरेपछि स्थानीयले सम्सी नाकामा प्रदर्शन गरेका छन् । घर फर्किरहेका उनलाई नागरिकता देखाउन एसएसबी जवानले भनेका थिए । नागरिकता छैन भनेपछि सन्तोषलाई कुटपिट गरिएको स्थानीयले बताए ।

नेपालतर्फको बाटो खराब भएकाले दशगजा क्षेत्रका नेपालीहरु बोर्डर अथवा भारतीय सडक भएर आवतजावत गर्ने गरेका छन् । सोही क्रममा पटक पटक एसएसबी जवानले कुटपिट तथा दुर्वव्हारको घटना घटाउने गरेको स्थानीयको दुःखेसो छ ।

स्थानीयको प्रदर्शनपश्चात् सशस्त्र प्रहरी गणले यस विषयमा दुबै पक्ष बसेर छलफल गर्ने बताएपछि उनीहरु प्रदर्शन रोकेका थिए । सशस्त्र प्रहरी गण सम्सीका प्रहरी निरीक्षक जयराम बस्नेतले यस विषयमा दुबै पक्षबीच छलफल हुने बताएका छन् ।