रास्वपाले उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामसहायलाई मत नदिने

काठमाडौं, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति पदमा सत्ता गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत नदिने निर्णय गरेको छ ।
राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने निर्णय गरेको हो ।
रास्वपाका एक नेताले उपराष्ट्रपतिमा पुरुष उम्मेदवारलाई मत नदिने पार्टीले निर्णय गरेको जानकारी दिए । उनले राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताए ।
रास्वपाले उपराष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने भने खुलाएको छैन । एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको रास्वपाका ती नेताको भनाइ छ ।
जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ । गठबन्धन सम्बद्ध लोसपा र नागरिक उन्मुक्ति पार्टीले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


