‘ए’ डिभिजन लिगमा जावलाखेललाई हराउँदै फ्रेन्ड्सको पहिलो जित

काठमाडौं, ३० फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ललितपुरे डर्वी भिडन्तमा जावलाखेल युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ ।
जारी सिजन राम्रो सुरुवातका बाबजुत जावलाखेलले मंगलबार पहिलो हार भोग्यो। अन्तिम समयमा १० खेलाडीमा समेटिएको जावालाखेललाई फ्रेन्डसले २–१ गोल अन्तरले पराजित गर्यो ।
फ्रेन्ड्सलाई जित दिलाउन राफिक एमिनु र प्रकाश बुढाथोकीले समान १–१ गोल गर्दा जावलाखेलका फोडे फोफानाले एक गोल फर्काएका थिए । सुरुवतमानै फ्रेन्डसलाई अग्रता बनाउने क्रममा १९ औं मिनेटमा राफिक एमिनुले गोल गरे । उनले प्रकाश बुढाथोकीको प्रहार गोलरक्षकले पञ्च गरेको बलमा रिबाउन्डमा गोल गरेका थिए ।
पहिलो हाफमा नै अग्रता दोब्बर बनाउने क्रममा प्रकाशले ४० औँ मिनेटमा गोल गरेका थिए । उनले लक्ष्मण रुचालको क्रसलाई सदुपयोग गरेका थिए । पहिलो हाफमा २ गोलको अग्रता बनाएको फ्रेन्डसले दोस्रो हाफमा अग्रता जोगाउँदा पहिलो पटक लिगमा ३ अंक हासिल गर्यो ।
खेलमा फर्कन प्रयास गरे पनि जावलाखेल निर्धारित समयमा १ गोलमात्र फर्कायो । ८७ औँ मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल गरेका थिए । फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको इन्जुरी समयमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो। उसका कप्तान सिमान्त थापाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि मैदान छाडेका थिए ।
फ्रेन्ड्सका राफिकलाई कुहिनाले हान्दै लडाएपछि रेफ्रीले उनलाई कार्ड दिएका थिए । जितसँगै फ्रेन्ड्सले ४ खेलमा ४ अंक जोडेको छ ।जावलाखेलको यो जारी लिगमा पहिलो हार हो । जावलाखेलले ४ खेलमा ७ अंक जोडेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


