काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एकपटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा शुरू नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोर्होयाएर शपथग्रहण गर्न नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौँ राष्ट्रपति पाइसक्ने बताए ।

उनले सांसद, मन्त्री भइसकेकाहरूले मुलुकको आर्थिक रूपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रूपमै भए त्यो झनै राम्रो हुने धारणासमेत राखे ।

महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।