जनकपुरधाम, २८ फागुन । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहको कार्यशैलीबाट असन्तुष्ट हुँदै कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेका छन् ।

अध्यक्ष साहको मनोमानीका कारण आफूहरूले विगत ५ महिनादेखि तलब पाउन नसकेको भन्दै कर्मचारीहरूले कार्यालयमा ताला लगाएका हुन् ।

प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवले आफूहरू विगत कार्तिक महिनादेखि नै तलब पाउन नसकेकोले घरपरिवार चलाउन पनि समस्या हुँदा बाध्य भएर सबै कर्मचारी मिलेर कार्यालयमा तालाबन्दी गरेको बताए ।

उनले बृहत्तरका अध्यक्ष साहले संस्थाको उद्देश्यविपरीतका कामहरू गरिरहेको बताउँदै अध्यक्षको कार्यशैलीबाट कर्मचारीहरू पनि पीडित बनेको सुनाए ।

अध्यक्ष साहले सम्पूर्ण कार्यकारी अधिकार आफूसँगै राखेको र कार्यालयको दर्ता चलानी पनि प्रशासन मातहत नभई अध्यक्षको सचिवालयमै रहेकोले कर्मचारीलाई काम गर्नसमेत धेरै कठिनाई भइरहेको यादवले सुनाए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको यस संस्थाले मन्त्रालयसँग समयमा तलब निकासाका लागि माग नगरेकोले यस्तो अवस्थाको सिर्जनाको भएको उनले बताए ।

संस्था मातहतका १५/२० वटा योजनाहरूमध्ये आर्थिक मसान्त समाप्त हुन ४ महिना बाँकी रहँदासम्म कुनैपनि योजनाको काम शुरुवातसमेत हुन नसकेको उनले जानकारी दिए ।

बृहत्तरले समयमा प्रगति विवरणसमेत पेश नगरेकोले तलब निकासामा समस्या भएको बताउँदै यादवले आफूहरू दशैं, तिहार र छठजस्तो पर्वमा पनि तलब पाउन नसकेको सुनाए ।

उनले बृहत्तरमा अध्यक्ष शीतल साह आएसँगै कर्मचारीहरूलाई तलबका लागि आन्तरिक रुपमा संघर्ष गर्नुपर्ने अवस्था उत्पन्न भएको गुनासोसमेत सुनाए ।

अध्यक्ष साहले एक नम्बरमा रहेका नासु संजय कुमार मण्डललाई नभई उनीभन्दा कनिष्ठ नासु अशोक कुमार ठाकुरलाई लेखापालको जिम्मेवारी दिएकोले अध्यक्षकै निर्देशनानुसार लेखापालले पनि काम गरिरहेको जितेन्द्रले बताए ।

फागुन ५ गते परिषद्का अध्यक्ष साहको अध्यक्षतामा कर्मचारी बैठकमा निर्णय भए अनुसार कर्मचारीको तलब होली पर्व अगाडी खुवाउने निर्णय सर्वसम्मतबाट गरिएपनि हालसम्म तलब नखुवाएको उनको भनाइ छ ।

यस आर्थिक वर्षमा हुने पूँजिगत काम सम्बन्धी योजना शाखाको काम हालसम्म शुन्य रहेको र प्राविधिक शाखामा खटिएको कर्मचारीहरूको म्याद थप नगरेकोले सम्बन्धित निकायबाट निकासा लिन जाँदा प्रगति समेत नदेखिएकोले हालसम्म दोस्रो र तेस्रो निकासा नदिइएको यादवले बताए ।

उनले अध्यक्ष साहले अधिकारको दुरुपयोग गरी दर्जनौं कामहरू गरेकोसमेत आरोप लगाए ।

अध्यक्ष साहले आर्थिक वर्ष २०७९/०८० मा चाडपर्व शिर्षकमा मात्र ३ लाख रकम विनियोजन भएकोमा आफुखुशी २५ लाख रुपैयाँ आन्तरिक कोष तथा पूँजिगत शिर्षकबाट खर्च गरेको उनको कर्मचारीहरूको आरोप छ ।

ईन्धन शिर्षकमा मात्र ३ लाख रकम विनियोजन भएकोमा पूँजिगत कार्य शुन्य रहेतापनि आफुखुसी झण्डै ५–७ लाख रुपैयाँ खर्च गर्नुका साथै सम्पर्क कार्यालय काठमाण्डौमा नरहे पनि परिषद्का लेखापाललाई अध्यक्ष साहले काठमाण्डौं सरुवा गरेको यादवको भनाइ छ ।

जानकी मन्दिर नजिक रघुपति मिष्ठान भण्डारको छेउमा डिजिटल डिस्प्ले वोर्ड योजना स्वीकृत नभई आफुखुसी जडान गराउनुका साथै प्रचारप्रसारका लागि अन्य व्यक्तिको नम्बर उल्लेख गरिएको उनले सुनाए ।

निमित्त कार्यकारी निर्देशक चिरन्जीवीराज ढुङ्गानाले पेश्की स्वरुप नियम विपरित २ लाख रुपैयाँ लिई आफ्नो निजी काममा खर्च गरेको र कर्मचारीको तलब दिन आनाकानी गरिरहेको उनको गुनासो छ ।

आर्थिक वर्ष २०७९/०८० को कार्यक्रमहरू LIMBS मा ईन्ट्री भइसकेको योजनाहरू आफुखुसी परिवर्तन गर्न चाहेकोले हालसम्म पूँजिगतको प्रगति शुन्य रहेतापनि २०–२५ प्रतिशत प्रगति देखाइएको कर्मचारीहरूको दाबी छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अहिले २४ जना कर्मचारी कार्यरत छन् ।