जनकपुरधाम, २७ फागुन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले परिवर्तन विरोधी गतिविधिलाई जनताले प्रतिवाद गर्ने दाबी गरेका छन् ।

शनिबार जनकपुरधाम विमानस्थलमा प्रेस सेन्टर नेपाल मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान सभामुखसमेत रहेका सापकोटाले परिवर्तन विरोधी गतिविधिले जनतामा प्रश्न उठेको बताएका हुन् ।

सापकोटाले संक्रमणकाल लम्बिनुको मुख्य कारण सरकार र राजनीतिक दल रहेको आरोप लगाए । उनले राजनीतिक दलहरुको दाउपेचका कारण संसदमा संक्रमणकालिन न्यायिक अवस्था टुंग्याउनका लागि पास हुनुपर्ने विधेयकहरु थन्काएर राखिएको बताए ।

०६३ मा तत्कालिन नेकपा माओवादी र नेपाल सरकार वीच भएको विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार संक्रमणकालिन अवस्था शान्ति प्रक्रियालाई टुंग्याउनुपर्ने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सर्वोच्च अदालतमा मुद्दा दर्ता हुँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन गम्भिर असर पर्ने बताए ।