रौतहटमा कुटपिटबाट एकजनाको मृत्यु

रौतहट, २७ फागुन । रौतहटमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।
कुटपिटबाट जिल्लाको राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको हो ।
मृतक परिवारका अनुसार होलीका दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका दासको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।
घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको एसपी बुढामगरले बताए ।
रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवका अनुसार सुस्त मनस्थिति (राम्ररी बोल्न नसक्ने) दासले एक चार वर्षीय बच्चाको हात समातेपछि उनीमाथि कुटपिट भएको थियो ।
कुटपिटबाट सामान्य घाइते भएको लागेर उनलाई उपचारको लागि लगिएन भने प्रहरीलाई जानकारी समेत दिइएन । मृत्यु पश्चात बिहीबार अपराहन्न साढे ४ बजे प्रहरीलाई खबर गरेपछि घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि लगिएको थियो ।
कुटपिटमा संलग्न भएकाहरु फरार भएका छन् । उनीहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


