काठमाडौं, २७ फागुन । जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

सत्तारुढ चारदल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच उपराष्ट्रपति जसपाले लिने सहमति भएपनि जनमतले भने आफ्नो छुट्टै उम्मेदवार तयार गरेको हो ।

झासँगै १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीनजनाको उम्मेदवारी परेको छ । यसअघि जनता समाजवादी पार्टीबाट दुईजनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी दर्ता भएको हो ।

नेकपा एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको थियो ।

आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।