एजेन्सी, २६ फागुन । अजयी मार्टिन्सको दुई गोलप्रेरित थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटार फुटबल क्लबलाई २–० गोलको नतिजामा पराजित गर्दै पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पनन खेलमा थ्री स्टारलाई चुनौती दिए पनि खुमलटार फिनिसिङमा चुक्दा लगातार दोस्रो खेलमा पराजित भयो ।

लकेन लिम्बुले दिएको पासलाई पेनाल्टी एरिया भित्र नियन्त्रणमा लिएर मार्टिन्सले ५४औं मिनेटमा पहिलो गोल गरेका थिए । वान् भर्सेज वान्मा मार्टिन्सको सटिक प्रहार सोझै गोलमा परिणत भएको थियो ।

निर्धारित ९० मिनेटको खेल सकिन सात मिनेट बाँकी रहँदा मार्टिन्सले पुनः गोल गर्दै थ्री स्टारको पहिलो जित सुनिश्चित गरे । खुमलटारका डिफेन्डर पदम भट्टराईलाई बिट् गर्दै मार्टिन्सले पेनाल्टी एरिया अगाडिबाट शानदार गोल गरेका थिए ।

जितसँगै थ्री स्टारले तीन खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा एपीएपफसँग २–० ले पराजित भएको थ्री स्टार दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरीमा अल्झिएको थियो ।

पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गरेको खुमलटार दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडसँग २–१ गोलको नतिजामा पराजित भएको थियो ।