जनकपुरधाम, २५ फागुन । जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय महिला दिवस समारोह भव्यताका साथ मनाएको छ ।

विद्यालयका संस्थापक तथा अध्यक्ष वीणा देवीको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागीहरूले आफ्नो मनको कुरा (स्पीच र कविता), सांस्कृतिक नृत्य, महिलाको जीवनमा आधारित सांगीतिक नाटकलगायतकाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष झाले सबैजनालाई आ–आफ्नो जीवनमा आफूप्रति विश्वस्त हुन आग्रह गरिन् । उनले समाजका कुनैपनि महिलाको कठिनाइमा आफू सदैव साथमा उभिने र न्यायको लागि लडिरहने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

कार्यक्रममा सहभागीहरूलाई प्रमुख अतिथि अध्यक्ष झाको हातबाट मायाको चिनोसमेत प्रदान गरिएको थियो । सहभागीहरू मध्ये धेरैजनाले आ–आफ्ना विचारहरू साझा गरेकी थिइन् । जसले अरूलाई प्रेरित गरेको थियो ।

विद्यालयका सञ्चालक डा. शिखा नायकले गृहिणीहरू अहिले समाज निर्माता भएकोमा शिक्षक कर्मचारीहरूको प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा मोनाष्टिक स्कुल/कलेजका करिब १ सय जना महिला सदस्यहरू (शिक्षिका र गैर–शिक्षिका) भेला भएकी थिइन् ।