वीरगञ्जमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एकजनाको मृत्यु

पर्सा, २५ फागुन । वीरगञ्जमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरका अन्दाजी २५ वर्षीय सुरज सर्राफ रहेको प्रहरीले जनाएको छ । त्यस्तै, वीरगञ्ज–१६ बस्ने अन्दाजी २६ वर्षीय विपिनकुमार कुशवाहा घाइते भएका छन् । उनको दुवै हात भाँचिएको छ ।
बाराको नौतन बहुअरीस्थित एलएस न्युरो अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार वीरगञ्ज– पथलैया सडकखण्ड अन्र्तगत वीरगञ्ज–१४ गण्डक चोकमा बुधबार राति ९ बजे दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०३–००४ प ७९३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको ना२५प ४००३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
गम्भीर घाइते अवस्थामा दुवै मोटरसाइकलका चालकलाई उद्धार गरेर प्रहरीले एलएस न्युरो अस्पतालमा उपचारका लागि पठाइएको थियो ।
एलएस न्युरोमै उपचारको क्रममा ७९३० नम्बरको मोटरसाइकलको चालक सुरजको बिहीबार बिहान २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
होली पर्वको बहानामा अत्याधिक मादक पदार्थ सेवन गरेर, ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चलाउँदा ११ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ । जसमा १२ जना घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


