सर्लाही, २४ फागुन । सर्लाहीको ईश्वरपुरमा बाख्रा गोठालो गएका एक व्यक्ति जंगलमा मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा ईश्वरपुर नगरपालिका–१३ श्रीनगर निवासी ५५ वर्षीय चुलाइ महतो छन् ।

सोबार बाख्रा लिएर गोठालो गएका महतो सागरनाथ वन विकास परियोजनाको जंगलमा मृत फेला परेका हुन् ।

घर नफर्केपछि प्रहरी र स्थानीयले खोजी गर्नेक्रममा शंकास्पद अवस्थामा महतोको शव स्थानीय सागरनाथ जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए ।

मुख, आँखा र शरीरको भित्री भागमा चोट लागेको अवस्थामा उनको शव भेटिएको हो । उनको हत्या भएको प्रहरीको आशंका छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।