जनकपुरधाम, २३ फागुन । जनकपुरधाममा मोटरसाइकलको ठक्करबाट एकजना परिक्रमा यात्रीको मृत्यु भएको छ ।

मृत्युु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका–७ प्रेमनगर बस्ने ६५ वर्षीया ईश्वर देवी राय रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले मंगलबार बिहान साढे ६ बजेको समयमा जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत मुजेलियामा बाटो क्रस गरिरहेकी पैदल यात्री महिलालाई ज ६ प २२१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

उनको उपचारको क्रममा प्रादेशिक अस्पतालमा बिहान साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रायको शव पोस्टमार्टमपश्चात् परिवारजनको जिम्मा लगाइएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।