जनकपुरधाम, २३ फागुन । होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधाममा प्रत्येक वर्ष आयोजना गर्दै आएको दुई दिवसीय कार्यक्रमको दोस्रो दिन आज महामूर्ख सम्मेलनको आयोजना हुन लागेको छ ।

मिनापले यसवर्षको होरी महोत्सव सोमबार आयोजना गरेको थियो भने महामूर्ख सम्मेलन आज दिउँसो जानकी मन्दिरको प्राङ्गणमा आयोजना गर्न लागेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिएका हुन् ।

उनले पहिलो दिन सोमबार होरी महोत्सवमा डम्फा वादन र उद्घाटन, होलीमाथि विशेष चर्चा परिचर्चा, मिनापद्वारा होरी गायन, निश्चित मापदण्ड अनुसार होरैया टिमद्वारा होरी गायन, उत्कृष्टाको चयनसँगै पुरस्कार वितरण गरिएको जानकारी दिए ।

कार्यक्रमको पहिलो दिन होरी महोत्सवमा भएको होरैया प्रतिस्पर्धामा सहभागी कुल ८ वटा टिम मध्ये जनकपुरधाम-२३ लादोबेलाको गोविन्द सेवा समिति होरैया समूह प्रथम, मंगलपुर दोस्रो र गिद्धा तेस्रो भएको थियो । उनीहरूलाई ट्रफी, डम्फा सहित सम्मान गरियो ।

होरैयामा महोत्तरीको विश्वम्भरपुर र सिंगियाही, सर्लाहीको मिर्जापुर समेत कुल ८ वटा होरैया टिमको सहभागिता रहेको थियो । उनीहरूले आ–आफ्नो क्षेत्रको मौलिक होरैया प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन आज विशिष्ट शैलीमा उद्घाटन, मिनापको हास्य शैलीको व्यंग्यपूर्ण नाट्य प्रस्तुती, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गरिने महासचिव मल्लिकले बताए ।

को बन्लान् यस वर्षको महामूर्ख ? 

मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष महामूर्खसहित १५ जनालाई १५ वटा पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोही अनुरूप यस वर्ष पनि यस पदवीका लागि विभिन्न आकांक्षीको नाम चर्चामा रहेको छ ।

मिनापका महासचिव मल्लिकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह मध्ये कुनै एकजनालाई यस वर्ष महामूर्खको उपाधि प्रदान गरिने जानकारी दिएका छन् ।