जनकपुरधाम, २३ फागुन । मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन मंगलबार तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गरेका छन् ।

पञ्चकोसी भनेर चिनिने यस परिक्रमामा जनकपुरधामको नगर परिक्रमा गरिन्छ । अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सोहिअनुरूप अन्तरगृह परिक्रमामा पनि लाखौं भक्तजनले सहभागिता जनाउने गरेका छन् ।

अन्तरगृह परिक्रमामा लाखौं संख्यामा साधुसन्त, स्थानीयबासी तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो ।

धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारी मठबाट निस्केको मिथिला बिहारीको डोला तथा जनकपुरधामको सुन्दर सदनबाट निस्केको किशोरीजीको डोला नेपाल र भारतको विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै सोमबार जनकपुरधाम फर्केर विश्राम गरेको थियो ।
परिक्रमामा सहभागिहरूका लागि यहाँका स्थानीय संघसंस्था एवं यूवा क्लवहरूले ठाँउ ठाँउमा निःशुल्क स्वास्थ्य शिविर, चिया, खाजा लगायतका व्यवस्थापन गरेका थिए ।

अन्तरगृह परिक्रमामा सहभागी श्रद्धालु जनकपुरधामको गंगासागरलगायत यहाँका विभिन्न धार्मिक सरोवरहरूमा स्नान वा सेचन गर्दै राम जानकी मन्दिर एवं विभिन्न देवी देवताको मन्दिरमा दर्शन गरेर कदम चोकमा पुग्दछन् ।

पहिले त्यहाँ विशाल कदमको रुख थियो । हाल त्यहाँ पञ्चमुखी हनुमानजीको मूर्ति स्थापना गरिएको छ । कदम चोकमा पुगेर आफूले राखेको निशानी (पत्थर) हटाएपश्चात् लक्ष्मण सागरमा सेचन गरेर लक्ष्मण अखाडामा गदाको दर्शन गर्दै सो स्थानको धुलो उडाएर परिक्रमा समापन गरिन्छ ।

मिथिला परिक्रमाको धार्मिक मान्यता संसारकै सबै तिर्थहरू भन्दामाथि रहेको शास्त्रमा उल्लेख छ ।

जनकपुरधामको हनुमान नगरस्थित हनुमानगढीबाट विधिवतरूपमा सुरू भएको परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः भारत बिहारको करूणा, विशौल हुँदै जनकपुरधाममा बिश्राम गरेर अन्तरगृह परिक्रमा गरेसँगै मिथिलाको महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा मंगलबार सम्पन्न भएको छ ।

अन्तरगृह परिक्रमा सम्पन्न भएसँगै जनकपुरधाम र आसपासको क्षेत्रमा बुधबार होली खेलिने छ ।

हेर्नुहोस् यी २१ तस्बिर : 

तस्बिरहरू : ज्योति झा