काठमाडौं, २२ फागुन । आइसिसी विश्वकप लिग–२ अन्तर्गत यूएई विरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ । त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले ४२ रनले जितेको हो ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८७ रनमै समेटिएको हो । यो जितसँगै अंक तालिकामा एक स्थान माथि उक्लिएको छ ।

यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिए । त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

नेपालले ६८ रनमै पाँच विकेट गुमाएको थियो। ज्ञानेन्द्र मल्ल ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल एक र दीपेन्द्रसिंह ऐरी चार रन बनाएर आउट भए ।

त्यसपछि भीम सार्कीले सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे । लामिछानेले २७ रन बनाए ।

यस्तै, सार्कीले आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरेर नेपालका लागि सम्मानजनक स्कोर बनाए । उनले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रन बनाएका थिए ।

नेपालका लागि आरिफ शेखले ४३, करण केसीले १७ र प्रतिश जीसीले ११ रन बनाए । यूएईका लागि जुनैद सिद्दीकीले तीन, रोहन मुस्तफा र आर्यन लक्राले दुई–दुई तथा केपी मयप्पनले एक विकेट लिए ।

यो जितसँगै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ ।

त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ ।

यसअघि पाँचौँ स्थानमा रहेको यूएई यो हारसँगै छैटौँ स्थानमा झरेको छ । यूएईको ३२ खेलमा ३१ अंक छ ।