जनकपुरधाम, २२ फागुन । जनकपुरधामस्थित ऐतिहासिक गोरधोई पोखरीको बृहत् सरसफाइ गरिएको छ ।

मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत मंगलबार हुने अन्तरगृह परिक्रमामा सहभागी हुने तिर्थालुको सुविधालाई मध्यनजर गर्दै बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद, जनकपुरधाम उपमहानगरपालिका र रेल्वे ट्रयाक सरसफाइ अभियानीको समन्वयमा ऐतिहासिक गोरधोई पोखरीको बृहत् सरसफाइ गरिएको हो ।

परिक्रमामा सहभागी हुने तिर्थालुका लागि जनकपुरधामको पिडारीचोकस्थित गोरधोई पोखरी महत्वपुर्ण मानिन्छ । तिर्थालुहरू अन्तरगृह परिक्रमाको क्रममा सोहि पोखरीमा खुट्टा धुने गर्दछन् । सो पोखरीमा भगवान रामसिताले समेत परिक्रमा सम्पन्न गरेपछि खुट्टा धोएको जनविश्वास छ ।

१५ दिनसम्म नाङ्गो खुट्टा गरिएको निरन्तरको परिक्रमा समापनपश्चात् सो पोखरीमा खुट्टा धोएपछि खुट्टामा शितलता हुने र कुनै पीडा नहुने जनविश्वास छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गोरधोई पोखरीलाई सरसफाइ गरिएपछि तिर्थालुहरूलाई सहज हुने बताए ।

उनले जनकपुरधामलाई सफा र सुन्दर बनाउन सरसफाइ अभियानी तथा स्थानीयलाई निरन्तरता दिन अपीलसमेत गरे । जथाभावी फोहर फाल्नेलाई रोक्न र सम्झाउन तथा नमाने प्रहरी प्रशासनको सहायता लिन उनले सुझाव दिए । आगामी शुक्रबार पुनः जनकपुरधामको तरहुतियागाछीमा सबैलाई एकत्रित भएर सरसफाइ अभियानमा सहभागी हुन उनले आग्रह गरे ।

सरसफाइ कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा, सरसफाइ अभियानी रूवी झा, अर्थ एण्ड क्लिन जनकपुरका दिपु ठाकुर, नेतृ विभा ठाकुर, कमला सरसफाइ अभियानी बिक्रम यादव, जनजाति कल्याण आश्रम जनक छात्रावासका अध्यक्ष कृष्ण दिक्षित, दुधमती सरसफाइ अभियानका अभियन्ता सुदिप मण्डल, कामाख्या परिवार नेपालका अध्यक्ष विभाष लाभ, ओरेक नेपालकी रोजलिन सिंह बछार, राष्ट्रिय सरसफाइ अभियानी धिरेन्द्र साह, अधिवक्ता रेखा दत्त, जनकपुर जेसीजका राजेन्द्र कुमार साह, युवाहरू रक्की साह, गौतम झा, आदित्य ठाकुर, सरोज यादव, पत्रकार आरती मण्डल, माला राय, रजत कायस्थसहितकाहरूको उपस्थिती थियो ।

गोरधोई पोखरी सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बृहत् टिमले महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो ।