जनकपुरधाम, २२ फागुन । होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधाममा प्रत्येक वर्ष आयोजना गर्दै आएको दुई दिवसीय होरी महोत्सव एवं महामूर्ख सम्मेलन आजदेखि सुरु भएको छ ।

मिनापले यसवर्षको होरी महोत्सव आज र महामूर्ख सम्मेलन भोलि जानकी मन्दिरको प्राङ्गणमा आयोजना गर्न लागेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिएका हुन् ।

उनले पहिलो दिन आज डम्फा वादन र उद्घाटन, होलीमाथि विशेष चर्चा परिचर्चा, मिनापद्वारा होरी गायन, निश्चित मापदण्ड अनुसार होरैया टिमद्वारा होरी गायन, उत्कृष्टाको चयनसँगै पुरस्कार वितरण गरिने जानकारी दिए ।

त्यस्तै, दोस्रो दिन भोलि मंगलबार विशिष्ट शैलीमा उद्घाटन, मिनापको हास्य शैलीको व्यंग्यपूर्ण नाट्य प्रस्तुती, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गरिने महासचिव मल्लिकले बताए ।

वि.सं. २०६१ सालबाट जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुर, २०६२ मा तत्कालीन नेकपा एमालेका नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सदभावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडि भ्रमर, २०६९ मा नेपाली काँग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा समसानघाटको स्वरुप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानीयालाई महामूर्खको उपाधी प्रदान गरिएको थियो ।

त्यस्तै २०७३ सालमा सप्तरीको मलेठमा नेकपा एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागेर ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो ।

२०७४ मा महामुर्खको उपाधी तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो ।त्यस्तै २०७६ सालमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवम् २०७८ सालमा अर्थविद डा. भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।