जनकपुरधाम, २२ फागुन । मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू सोमबार जनकपुरधाम आइपुगेका छन् ।

भारतको विशौलबाट पदयात्रा गर्दै परिक्रमाबासीहरू पूर्णिमाका दिन सोमबार बिहान जनकपुरधाम आइपुगेका हुन् । भोलि (मंगलबार) जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा पदयात्रा सम्पन्न हुनेछ ।

मिथिला माध्यमिकी परिक्रमामा पैदल यात्रीहरू हनुमानगढी, तिरहुतिया गाछी, बाह्रविघा मैदान र विभिन्न मठमन्दिरहरूमा बास बस्ने गर्दछन् ।

मंगलबार विहान अन्तरगृह गरेपछि परिक्रमा यात्रा पूरा हुनेछन् । त्यसपछि यात्री तथा श्रद्धालुहरू आ–आफ्नो घर फर्किने छन् ।

यही फागुन ८ गते जनकपुरधामको हनुमानगढीस्थित जम्मा भएर परिक्रमा पैदल यात्राको आरम्भ भएको थियो । हनुमानगढीबाट सुरु भएको पदयात्रा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेका छन् ।

माध्यमिकी परिक्रमा भाग लिन नसकेको श्रद्धालुहरू अन्तरगृह परिक्रमामा सहभागी भएमा मोक्षको भागी बन्ने धार्मिक विश्वास रहेको छ ।
नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल रहेका छन् ।

परिक्रमाको अन्तिम दिन जनकपुरधाममा अन्तरगृहको परिक्रमा करिब १५ किलोमिटरसम्मको नगर वरिपरि परिक्रमा गरिन्छ । त्यसपछि जनकपुरधाम क्षेत्रमा होली पर्व मनाइन्छ ।

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरि कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन् ।मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको हो ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वरनाथलाई आधार मानेर परिक्रमा गर्ने परम्परा रहेको छ ।