जनकपुरधाम, २१ फागुन । महोत्तरीको पिपरा गाउँपालिकालाई लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गाउँपालिका कार्यसमितिले सार्वजनिक हित र सार्वजनिक सरोकार सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ ।

पालिकामा प्रशासनीक सुशासन, वित्तीय सुशासन, आर्थिक कार्यप्रणाली, कानून कार्यान्वयन, सूचनाको हकको कार्यान्वयनलगायतका माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।

विकास व्यवस्थापन, शासकीय प्रवन्ध, वेरुजु फछ्यौंट, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सामाजिक न्याय, न्याय सम्पादन प्रणाली, गरिबी निवारण लगायतका क्षेत्रमा सदाचारिता, जवाफदेहीता, पारदर्शिता, जनसहभागिता, समावेशसिता जस्ता सुशासनका पक्षमा कार्यसम्पादन गर्नसमेत माग गरिएको छ ।

लोसपाले बुझाएको ज्ञापन पत्रमा विगतमा आफूहरुले गरेको आन्दोलनको मर्म, भावना र उद्देश्य हालसम्म पनि पुरा हुन नसकेको आरोप लगाइएको छ ।

राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगको प्रतिवेदनले त्यस पालिकाको कार्यसम्पादन अतिखराब रहेको कुरा पुष्टी गरेको र महालेखाको प्रतिवेदनमा पनि कार्यालयको सुशासनको पक्ष अति कमजोर रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

पालिकामा भ्रष्टाचार, अनियमितता, कुशासन, कमिशनखोरी, अख्तियार दुरुपयोग, कानूनको अपचलन जस्ता कार्य मौलाएको जनगुनासो व्याप्त रहेकोले यस्ता कार्यहरु अविलम्ब रोकेर जनताप्रति समावेशसिताको सिद्धान्त अनुरुप कार्य गर्न माग गरिएको लोसपा नेपालका पिपरा गाउँपालिका अध्यक्ष विनित पाण्डेयले बताए ।

यसका साथै विगतको आन्दोलनको माग सम्बोधन एक साताभित्र गरी त्यसको सम्पूर्ण कागजात एक–एकप्रति लोसपा नेपाल पिपरा कार्यसमितिलाई उपलब्ध गराई दिन अनुरोधसमेत गरिएको छ ।