घरमा प्रहरी पुगेपछि पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान फरार

एजेन्सी, २१ फागुन । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् । तोशखाना काण्डमा खानलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेका थिए ।
आइतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो । पूर्वप्रधानमन्त्री खान नभेटिएपछि प्रहरी टोली रित्तै फर्केको छ । अदालतमा हाजिर हुनु तीन दिनअघि इस्लामबाद प्रहरी खानको घरमा पुगेको हो ।
पाकिस्तानी सञ्चारमाध्यमले इमरान खान माथि मनोवैज्ञानिक त्रासको दबाब दिन पाकिस्तानी सरकारले खानको घरमा प्रहरी पठाएको बताएका छन् ।
इस्लामाबाद प्रहरीले ट्विट गर्दै उनको कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि उनको घरमा सूचना दिएर पाकिस्तानी प्रहरी फर्किएको छ ।
ट्विटमा भनिएको छ, ‘पक्राउ गर्ने नै उद्देश्यले गएको होइन । यदि यसो गर्ने हो भने कुनै शक्तिले हामीलाई रोक्न सक्दैन । हामीले इमरानलाई नभेटी फर्कनुपरेको छ ।’
प्रहरी आफ्नो घरमा आएपछि इमरान खानले ट्विट गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र पूर्वसेना प्रमुख जनरल बाजवामाथि गम्भीर आक्रोश पोखेका छन् । उनले लेखेका छन्, ‘बदमासलाई शासक बनाएको देशको भविष्य के होला ?’
यसअघि इस्लामावाद प्रहरीले इमरान खान पक्राउबाट बच्न निकै प्रयास गरिरहेको ट्विट गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


