बारा, २१ फागुन । बारामा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निजगढ नगरपालिका–८ बस्ने ५० वर्षीय मजिद मिया रहेको प्रहरीले जनाएको छ ।

आइतबार मध्याह्न १२ बजे बुद्धचोकमा वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्ने क्रममा उनलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार बसको ठक्करबाट मिया गम्भिर घाइते भएका थिए ।

मियालाई सीटी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्ज पठाइएको थियो । गण्डक अस्पतालमा उपचार गर्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक सिरहा सुखीपुर नगरपालिका–८ बस्ने ४२ वर्षीय ललन कुमार दासलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ ।