बैंकको ब्याजदर र डिजेलको मूल्य घटाउन माग

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निजी क्षेत्रले बैंकको ब्याजदर र डिजेलको मूल्य घटाउन माग गरेका छन् ।
आइतबार सिंहदरबारमा मुलुकको वर्तमान वित्तीय अवस्था र समाधानका उपायबारे प्रधानमन्त्री प्रचण्डले बोलाएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो माग गरेका हुन् ।
बैंकको ब्याजदर घटाउन र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ घटाएर लगानीमैत्री वातावरण बनाउन आग्रह गरिएको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले बताए ।
बैंक ब्याजदर महँगो हुँदा लगानीको वातावरण बिग्रिएको र त्यसलाई महँगो डिजेलले थप मलजल गरेकोबारे प्रधानमन्त्री प्रचण्डलाई अवगत गराइएको उनले बताए ।
अग्रवालकाअनुसार परिसंघले डिजेलको मूल्य लिटरमा १० रुपैयाँले घटाउन र बैंक ब्याजदर सरकारले परिस्थिती हेरेर काबुमा राख्न सुझाएको छ ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका थिए ।
प्रधनमन्त्री प्रचण्डले अध्यक्षता गरेको बैठकमा सरकारकोतर्फबाट मुख्य सचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका अधिकारीहरु सहभागी थिए ।
यस्तै निजी क्षेत्रकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बरआर्फ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल लागयत बैठकमा सहभागी थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


