जसपासम्बद्ध समाजवादी विद्यार्थी युनियनको घोषणापत्र सार्वजनिक

काठमाडौं, २० फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियनले घोषणापत्र सार्वजनिक गरेको छ । चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचन लक्षित घोषणापत्र संगठनले शनिबार सार्वजनिक गरेको हो ।
मुलुकको वास्तविक धरातलमा उभिएर आजसम्मको क्रान्तिले सिर्जना गरेको चेतनालाई सम्बोधन गर्न समाजवादी विद्यार्थी युनियनले संघीय समाजवादी शिक्षा प्रणालीलाई आम जनता र मुलुकको सर्वोपरि हित र समृद्धिको लागि हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
संगठनले उठाएको शिक्षा प्रणालीको मूलभूत विशेषताहरूमा त्रैभाषिक शिक्षा, आदर्शवादी समाज र मौलिक विज्ञान र प्रविधिको विकास, संघीय समाजवादी संस्कृतिको विकास, संघीय समाजवादी मनोविज्ञान, संघीय समाजवादी विश्व दृष्टिकोण, प्राकृतिक श्रोत साधनको व्यवस्थित विकास, भूबनोट अनुसारको व्यवस्थित जल जमिन, जङ्गलमाथिको स्थानीय स्वामित्व, सामुदायिक शिक्षा प्रणाली रहेको बताइएको छ ।
समाजवादी विद्यार्थी युनियनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने विषयलाई घोषणा पत्रमा उठाएको छ । वर्षौँदेखि बहिष्करणमा परेका आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, दलित, अपाङ्ग भएका व्यक्ति तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई राज्यका हरेक अंगमा प्रतिनिधित्व गराउनु नै समानुपातिक समावेशी हो, घोषणापत्रमा भनिएको छ ।
विद्यार्थी, शैक्षिक प्रणाली, विश्वविद्यालयको वेथिति, भ्रष्टाचार लगायतका विषयहरू समेटिएको २६ बुँदाहरू आफ्ना प्रतिबद्धताको रूपमा प्रस्तुत गर्दै संगठनले सम्पूर्ण मतदाता विद्यार्थीहरुसँग समाजवादी विद्यार्थी युनियनलाई मतदान गर्न अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


