जनकपुरधाम, २० फागुन । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–१ रमदैयास्थित राजदेवी मन्दिरमा चोरी गर्ने समूह चोरीका सामान तथा हातहतियारसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धनुषाको क्षीरेश्वर नगरपालिका वडा नम्बर–५ महेन्द्रनगर बस्ने ३७ वर्षीय रजाक मोहम्मद, विदेह नगरपालिका वडा नम्बर–४ सुन्दरपुर बस्ने २१ वर्षीय मोहम्मद हबगुल्ला शाह, कमला नगरपालिका वडा नम्बर–७ हथमुन्डा बस्ने २२ वर्षीय रमेश कुमार महतो, विदेह नगरपालिका वडा नम्बर–४ बस्ने २२ वर्षीय नर्सदिन साह र सोही ठाउँ बस्ने ३० वर्षीय सरिफ मुसलमान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

उनीहरूले गत शनिबार राति करिब १२ बजेको समयमा रमदैयास्थित राजदेवी मन्दिरको ताला तोडेर उक्त मन्दिरबाट देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुनचाँदीको सरसामानहरू चोरी गरेर फरार भएका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको बिशेष अनुसन्धान टोलीले मन्दिरमा जडान भएको सिसिटिभि फुटेज तथा भिडिओहरूको सुक्ष्म विश्लेषण गरी चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिइएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उनीहरूको खोज तलास गर्ने क्रममा शुक्रबार राति सरिफ मुसलमानलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले योजनावद्ध तरिकाले भारततर्फ फरार हुन लागेको अवस्थामा जनकनन्दनी गाउँपालिका वडा नम्बर–३ महुवास्थित भारतीय सिमा नजिक रेल्वे ट्याकको बाटो हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा मन्दिरबाट चोरी भएका सामानसहित उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी खड्काले बताए ।

उनीहरूको साथबाट घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, नगद ११ हजार ५००, मोबाइल १३ थान, चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी अन्दाजी २ किलो, चरेशको थाल ७ थान, हम्मर १ थान, कमण्डल १ थान, दविया ३ थान, खुकुरी १ थान, ह्याक्सो ब्लेड १ थान, पासपोर्ट १ थान, परीक्षा प्रवेश पत्र १ थान, तामाको मरअंकित बस्तु १ थान, पित्तको कसौडी १ थान, पित्तलको सानो लोटा १ थान, पित्तलको गिलास १ थान, दियो १ थान, तामाको सानो सानो गिलासहरू, फलामको छेनी २ थान, ठुलो फलाको घन १ थान, सलाई रिन्च १ थान, फलाको चारपाटे वस्तु, खुकुरी १ थान र खन्ती १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

रमदैयास्थित राजदेवी मन्दिरबाट मुर्तिसहित २ किलो बराबरको चाँदीको पिढी, २५ तोलाको चाँदीको मुकुट, अन्दाजी १ किलोको चाँदीको झाप, अन्दाजी ५ सय ग्रामको चाँदीको थाली, १५ तोलाको चाँदीको लोटा, १२ तोलाको चाँदीको घण्टि, ६ आनाको सुनको मनटिका, १० आनाको सुनको नथिया, ४ आनाको सुनको सिक्रि, १ आनाको सुनको नाकको टप, ६ आनाको सुनको कानको बाली र करिब २/३ महिनादेखि दान पेटिकामा रहेको नगद चोरी भएको थियो ।

पक्राउ परेका उनीहरूको समूहले नै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ कुवास्थित हनुमान मन्दिरमासमेत चोरी गरेको भन्ने बुझिएकोमा थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।