जानकी मन्दिर परिसरमा कार्यक्रम आयोजना गर्न रोक, लक्ष्मण मन्दिरका सटरहरू पनि खाली गराइने

जनकपुरधाम, १८ फागुन । होली पर्व समापन भएपश्चात् जानकी मन्दिर परिसरमा कार्यक्रमहरूको आयोजना गर्न पूर्णरुपले निषेध गरिने भएको छ ।
बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकबाट होली पश्चात् मन्दिर परिसरमा जानकी मन्दिर स्वयंले आयोजना गर्ने धार्मिक तथा सांस्कृतिक कार्यक्रमबाहेक अन्य कुनैपनि कार्यक्रम नगर्ने निर्णय भएको हो ।
जानकी मन्दिर स्वयंले मन्दिर परिसरमा परम्परादेखि आयोजना गर्दै आएको विवाहपञ्चमी महोत्सव, रामनवमी, जानकी नवमी जस्ता धार्मिक कार्यक्रमहरू गर्न कुनै प्रकारको अवरोध नहुने बैठकले निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।
उनले भने, ‘जानकी मन्दिर परिसरमा कार्यक्रमहरूको आयोजना गर्दा मन्दिर फोहर हुनुका साथै सुरक्षा चुनौती पनि बढ्छ । त्यसैले सर्वपक्षीय बैठकबाट यस्तो निर्णय गरिएको हो । होली पर्वको भोलिपल्टबाटै यो निर्णय कार्यान्वयनमा आउँछ ।’
त्यस्तै, मिथिला माध्यमिकि परिक्रमामा सहभागी श्रद्धालुहरूको स्वागतका लागि नगरका विभिन्न स्थानमा स्वागतद्वार बनाउने, अन्तरगृह परिक्रमाका दिन नगरभित्र सवारी साधन सञ्चालनमा पूर्णरुपले रोक लगाउने, विजुलीका पोलहरूमा बत्ति जडान गर्नेलगायतका निर्णयहरूसमेत भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए ।
माध्यमिकी परिक्रमामा मिथिला बिहारीको डोला र किशोरी जीको डोला फागुन २२ र २३ गते जनकपुरधाम क्षेत्रभित्र प्रवेश हुने भएकोले परिक्रमा सडक तथा पडावस्थलको १ किलोमिटर वरपरको क्षेत्रमा माछामासु एवम् मदिराजन्य पदार्थ खरिद विक्री तथा सेवन गर्नसमेत निषेधित गर्ने निर्णय गरिएको छ ।

बैठकले एक हप्ताभित्र लक्ष्मण मन्दिरको सटरहरू खाली गराई त्यस ठाउँमा फूलमाला र प्रसादको पसलमात्र राख्ने निर्णयसमेत भएको छ ।
बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासलगायत सुरक्षा निकायका प्रमुखहरूको उपस्थिती थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


