जनकपुरधाम, १६ फागुन । मधेस प्रदेशका सामाजिक विकास मन्त्री सुरिताकुमारी साहले किशोर किशोरीको प्रजनन स्वास्थ्य सम्बन्धी हाम्रो समाजमा खुलेर कुरा गर्न नसकिएकोले किशोर किशोरी समस्यामा पर्ने गरेको बताएकी छन् ।

मंगलबार जनकपुरधाममा आयोजित किशोर किशोरी प्रजनन स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारहरुको बारेमा बोलेकी थिइन् ।

किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी हुनु जरुरी रहेको बताइन् । उनले यस्ता विषयको बारेमा जानकारी दिने स्वास्थ्य संस्थाहरुलाई धन्यवादसमेत दिएकी थिइन् ।

उनले भनिन्, ‘दशकौंदेखि किशोर–किशोरीहरूका लागि स्वास्थ्य सेवाको कमजोर गुणस्तर र पहुँचलाई सम्बोधन गर्ने प्राथमिक समाधान किशोर–मैत्री स्वास्थ्य सेवा हो । किशोर किशोरीमैत्री स्वास्थ्य सेवाहरूले गुणस्तरीय मापदण्डहरू पूरा गर्दछ जसले तिनीहरूका लागि पहुँचयोग्य, स्वीकार्य, समान, उपयुक्त र प्रभावकारी बनाउँछ ।’

सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मी भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला, बालबालिका, युवा तथा खेलकुद राज्यमन्त्री मो. जैद आलम, सामाजिक विकास राज्यमन्त्री शेख अबुल कलाम आजाद, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, मधेस प्रदेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउत, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहलगायतकाहरूको उपस्थिती रहेको थियो ।