सप्तरीमा भएको सवारी दुर्घटनामा ३ को मृत्यु, १२ जना घाइते

सप्तरी, १६ फागुन । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिकामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
कञ्चनरुप नगरपालिकामा दुईजनाको र हनुमानगर कंकालिनी नगरपालिकामा एकजनाको मृत्यु भएको हो ।
कञ्चनरुप वडा नम्बर–९ विष्णुमन्दिर नजिक मंगलबार बिहान ३ बजे बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा सुनसरीको दुहबी नगरपालिका वडा नम्बर–३ का ४५ वर्षीय राजकुमारी चौधरी र ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको प्रहरीले जनाएको छ । राजकुमारी र हरेराम कारमा सवार थिए ।
दुर्घटनामा १२ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी सोमबार राति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिंदा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । ती पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


