काठमाडौं, १६ फागुन । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबारदेखि ५ चैतसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।

आयोगको १६ माघ २०७९ को निर्णयअनुसार यही २५ गते राष्ट्रपति र आगामी ३ चैतमा उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि संघीय संसदमा हाल कायम ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ ।

स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ ।

निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड–७२, संख्या ३२ मा प्रकाशन भइसकेको छ ।

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो ।